राजधानीकै स्कुलमा 'अलकायदा' को चिठी


काठमाडौं- राजधानीको बालाजु, वनस्थलीस्थित सिद्धार्थ वनस्थली उच्च माविका सञ्चालक रुपक राजवंशीलाई एक दिन विद्यालयका सुरक्षा गार्डले एउटा पत्र थमाए। पत्र कुनै अज्ञात व्यक्तिले उनैलाई दिन भनेर गार्डलाई थमाएको रहेछ। पत्र खोलेर हेर्दा केही समय राजवंशीको हंसले ठावैँ छाड्यो।

पत्रको सिरानमा दुवैतर्फ अत्याधुनिक एके ४७ राइफलका चित्र। केही तल 'अलकायदा विश्व संगठन दक्षिण एसिया, नेपाल' लेखिएको छ। पत्र झट्ट हेर्दा अन्तर्राष्ट्रिय आतंकवादी संगठन अलकायदाकै जस्तो देखिन्छ तर पत्रमा कहीँकतै अरबी र उर्दू भाषा प्रयोग गरिएको छैन। पत्रमा संगठनको निर्णयअनुसार भन्दै राजवंशीसँग १३ लाख रुपैयाँ माग गरिएको थियो। पत्रबाट तर्सिएका उनले प्रहरीलाई खबर गर्नु र आफूनिकटसँग सरसल्लाह गर्नुको बदला पत्रमा उल्लेख भएको नम्बरका व्यक्तिलाई मागिएकै रकम खुरुक्क बुझाए।

यत्तिमै राजवंशीको तनाब भने सकिएन। उनलाई हप्तादस दिन बिराएर विभिन्न सशस्त्र समूहका नाममा पत्र र फोन आउन थाल्यो। पटकपटक गरी उनले ३५ लाख रुपैयाँ बुझाए। धम्कीपूर्ण पत्र र फोनले हैरान राजवंशीले अन्त्यमा एक जना आफूनिकटलाई घटना विवरण सुनाए। ती आफन्तको सल्लाहमा महानगरीय अपराध अनुसन्धान महाशाखामा जाहेरी पनि दिए।

'पत्र र फोनबाट धम्काउने, पीडितले पटकपटक गरेर लाखौं रुपैयाँ धम्काउने व्यक्तिलाई र रकम ट्रान्सफर गरेर पठाएको देखिएको छ,' महाशाखाका एसपी प्रकाशजंग कार्कीले भने। उनका अनुसार प्रहरीले अनुसन्धानपछि असोज १८ गते पक्राउ गरेका वैकुण्ठ बेल्बासेको अपराध शैली हालसम्मका ठगीका घटनाभन्दा फरक छ। उनले थपे, 'आफूलाई सञ्चारकर्मी र सञ्चार उद्यमीका रुपमा परिचय दिँदै हिँड्ने बेल्वासे घटनाका एक्ला आरोपी हुन्, पत्र तयार गर्नेदेखि रकम बु‰नसमेत आफैं जाने गरेको अनुसन्धानमा खुलेको छ।'

समाजमा आफूलाई पत्रकार र एउटा प्रकाशन गृहको अध्यक्ष भन्दै उनले सम्पर्क बढाउँथे। भेटघाट र चिनजानपछि अनलाइन र पत्रिकाका लागि विज्ञापन र सहयोग भन्दै पत्र पठाउँथे। यसरी पत्र पठाएका मध्ये एक वा दुईजना उनको मुख्य लक्ष्य हुन्थे, ठगीका लागि। अनि आफैंले विभिन्न सशस्त्र समूहका नामको लेटरहेड बनाउने र सोहीअनुसार धम्कीपूर्ण पत्र पठाउने उनको ठग्ने शैली थियो।

'हराएको नागरिकता र भेट्टाएका तस्बिर प्रयोग गर्दै विभिन्न दूरसञ्चार सेवा प्रदायकका सिमकार्ड निकालेर धम्काउने गरेको देखियो,' एसपी कार्कीले भने।

महानगरीय अपराध अनुसान्धान महाशाखाले असोज १८ गते पक्राउ गरेका बेल्वासे शारीरिक रुपमा केही कमजोर छन्। उनको खुट्टामा समस्या छ। अर्घाखाँचीका बेल्वासे मनमैजु बस्ने र चावहिलमा एउटा प्रिन्टिङ लेआउट र डिजाइनसम्बन्धी पसल सञ्चालन गर्छन् तर उनले सञ्चालन गरेको पसलका ग्राहक र मालिक दुवै आफैं थिए। अनुसन्धान अधिकारीका अनुसार बेल्वासेले सोही पसलबाट अन्तर्राष्ट्रिय आतंककारी संगठन अलकायदादेखि सशस्त्र अग्निज्वाला, सशस्त्र डिफेन्स आर्मी फोर्स र टाइगर मुक्ति मोर्चाजस्ता हतियारधारी संगठनका नामका पत्र तयार गरेका थिए।

महाशाखाका डिएसपी रमेश थापाका अनुसार बेल्वासे अपहरण तथा शरीरबन्धक तथा संगठित अपराध मुद्दामा २८ महिना सजाय भुक्तानपछि भदौ २७ मा जेलमुक्त भएका थिए। अघिल्लोपटक राजकुमार ढुंगानालाई संगठित रुपमा हतियार देखाई अपहरण गरेको अभियोगमा २०७० जेठ १३ मा बेल्वासेसहित चार जनालाई काठमाडौं प्रहरीले पक्राउ गरी कारबाही थालेको थियो। काठमाडौं जिल्ला अदालतको साउन १० गतेको फैसलाले केन्द्रीय कारागार गएका बेल्वासेले ठगी र धाकधम्कीको योजना कारागारमै बनाएको अनुसन्धानमा देखिएको छ।

'प्रहरी कारबाही र कारागार भुक्तान गरिसकेको अभियुक्त भएकाले बेल्वासेलाई प्रहरीको कार्यशैली अन्य विषयमा जानकारी थियो, सोहीअनुसार योजना बनाएर घटना गरेको देखियो,' डिएसपी थापाले भने। उनले फोनको सिमकार्ड निकाल्न प्रयोग भएका दुवै नागरिकता सम्बन्धित व्यक्तिबाट पुष्टि गरिएको बताए। 'नागरिकता हराएका व्यक्तिको निवेदनसमेत प्रमाणका रुपमा पेस गरेका छौं, आपराधिक मानसिकता भएको व्यक्ति रहेछ,' थापाले थपे।

प्रहरीले बेल्वासेको मनमैजुस्थित कोठा र चावहिलमा रहेको कार्यालयबाट धम्की दिन प्रयोग भएका सिमकार्ड, अलकायदा विश्व संगठन (दक्षिण एसिया,नेपाल) को नाममा रु.१३ लाख सहयोग भन्ने व्यहोरा लेखेको पत्र, सशस्त्र डिफेन्स आर्मी फोर्सका नाममा 'आर्थिक सहयोग गर्ने सम्बन्धमा'लेखेको पत्र, सशस्त्र अग्निज्वालाको नाममा बैठक बस्ने भन्ने व्यहोराको  पत्र, टाइगर मुक्ति मोर्चाको नाममा 'आर्थिक सहयोग पाऊँ भन्ने बारे' लेखेको पत्र, खोजखबर न्युजका नाममा हार्दिक स्वागत र सहयोग भन्ने पत्र, खोजखबर, काठमाडौंका नाममा वार्तामा बस्ने भन्ने पत्र, दीपेन्› खड्गीको नाममा जारी भएको ५७१ नं. को नागरिकता र एक लाख पचास हजार रुपैयाँ बरामद गरेको छ।

महाशाखाले बेल्वासेविरुद्ध अपहरण तथा शरीरबन्धक मुद्दामा आइतबार काठमाडौं जिल्ला अदालतबाट १५ दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेको छ। महाशाखाले बेल्वासेबाट ठगिने अन्य कोही भए उजुरी गर्न आग्रहसमेत गरेको छ।


Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment