आश्विन ३०, २०७३- दसैं मनाउन गाउँ पुगेका यात्रु यसपटक पनि जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । यातायात सम्बद्ध समितिले पर्याप्त बस, जिप नगुडाएपछि यात्रुले सास्ती बेहोर्नुपरेको हो । तानसेन, बुटवल, ग्रामीण भेगबाट विभिन्न गन्तव्यका लागि छुट्दै आएका सवारी साधन दसैंमा थन्क्याइँदा चलेका सीमित गाडीमा यात्रु कोचाकोच गरेर यात्र गरिरहेको देखियो ।
‘बेलुकासम्म टिकट बिक्री गरेनन्,’ घर जान हिँडेकी रामपुर नगरपालिका १२ की सुजीता अर्यालले भनिन्, ‘बिहान टिकट काट्न पर्खिंदा नदिएपछि जिप रिजर्भ गरेर घर जान बाध्य भइयो ।’ जथाभाबी भाडा असुल्नका लागि समितिले ट्रिप शुल्क काटे पनि काउन्टरबाट टिकट नदिँदा उनी जिप रिजर्भ गरेर जान बाध्य भएकी हुन् । पश्चिम नेपाल बस व्यवसायी समिति, श्रीनगर यातायात व्यवसायी समितिले जिल्लाका ग्रामीण भेगमा जाने सवारी साधन आवश्यकताअनुसार सञ्चालनमा नल्याएको यात्रुको आरोप छ ।
प्रहरी चौकी रहेका स्थानसम्म सिट क्षमताअनुसार यात्रु लगे पनि त्यहाँबाट पार गरेपछि छतमा समेत चढाउने विकृति यसपालि पनि रोकिएन । जिल्लाका भुवनपोखरी, मेहल्ढाप, काफलबुटा, तिनगिरे, जल्पा, बहादुरपुर, पूर्वखोलालगायत स्थानमा जाने सवारी साधनले छतमा यात्रु बोकिरहेका छन् । जोखिमपूर्ण यात्रासँगै स्थानीय तेब्बर भाडा तिर्न बाध्य छन् । यसबारे प्रहरी र प्रशासन बेखबरझैं छन् । प्रहरीलाई उजुरी गर्छु भन्ने यात्रुलाई चालकले बीच बाटैमा छाडिदिने गरेको भैरवस्थानका दिनेश अधिकारीले बताए ।
‘१ सय २० रुपैयाँको भाडा अहिले २ सय ५० तिरियो,’ बिरकोटका कमल रानाले भने, ‘हिँडेर गन्तव्यमा जान सकिएन, बढी भाडा भए पनि तिर्नै पर्यो ।’ उनका अनुसार सानो झोलाको पनि सवारी साधनले कम्तीमा २ सय मागेका थिए । अन्य समयमा ५ सयमा जाने सवारीले दसैंमा १ हजार ५ सयदेखि २ हजारसम्म लिने गरेका छन् । तानसेनदेखि चिलाङी ४ किलोमिटरको भाडा २ हजार असुलिएका उदाहरण पनि छन् । भाडाका सवारी साधन पर्याप्त नभएको भन्दै जिपवालाले यात्रुलाई चेपुवामा पारेर बढी भाडा तिर्न लगाएका हुन् ।
दसैंको सप्तमीपछि जिल्लाका ग्रामीण भेगमा जाने सवारी साधनले धेरैजसो रिजर्भमा यात्रु बोक्ने गरेको पाइयो । अधिकांश जिपवाला रिजर्भबिना जानै नमानेको यात्रुको गुनासो छ । ‘सयको भाडा तीन सय तिरेर पनि हिँड्नैपर्ने भयो,’ दर्लमडाँडाका सुदीप गैरेले भने, ‘नभए नम्बरको गाडी छैन भने ।’ कतिपय जिपले मौका यही हो भन्दै कमाउने माध्यम बनाएका छन् ।
पश्चिम नेपाल बस व्यवसायी समितिका शाखा प्रमुख डोलराज भट्टराई भने काउन्टरबाट त्यस्तो समस्या नरहेको बताउँछन् ।
‘बाहिरबाट कसले के गर्छ हामीलाई थाहा हुँदैन,’ उनले भने । जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रवीण आचार्य अहिलेसम्म यात्रु ठगिएको र बढी भाडा तिरेको गुनासो गर्न नआएको बताए । ‘समस्यामा परेको वा बढी भाडा लिएको गुनासो गर्न आए कारबाही हुन्छ,’ उनले भने ।
राजमार्गमा हजारौं अलपत्र
धादिङ– पृथ्वी राजमार्गमा सार्वजनिक यातायात पर्याप्त सञ्चालन नहुँदा दसैं मान्न आएका हजारौं यात्रु अलपत्र छन् । धेरैजसो गाडी जिल्लाहरूबाटै रिजर्भमा आएपछि बीचबाट चढ्नुपर्ने यात्रु अप्ठेरोमा परेका हुन् । दसैंको टीको थाप्न पति र बलाबच्चासहित बेनीघाटको सलाङघाटस्थित माइतीघर आएकी छत्रेदेउरालीकी सावित्री सिलवाल बिहीबार नौबिसे जाने गाडी भेट्न बिहान आठै बजे सडक झरिन् । तर, अपराह्न ३ बजेसम्म पनि पाइनन् । अधिकांश गाडीमा रिजर्भका बोर्ड लगाइएको थियो । बाँकीमा पनि खुट्टो राख्ने ठाउँसम्म थिएन ।
जसोतसो तरकारी बोक्ने गाडी रोकेपछि त्यसैमा चढे उनीहरू । यति बेलासम्म उनीहरूले करिब ८ किमि सडक पैदलै पार गरिसकेका थिए । लामोदुरीका सवारी साधनले रिजर्भ भन्दै स्थानीय यात्रु बोक्न नमान्ने भएपछि टीका थाप्न आफन्तको जानुपर्नेलाई सास्ती छ । शुक्रबार दिनभर पृथ्वी राजमार्गमा गाडीको प्रतीक्षामा बस्नेको लामै लर्को देखिन्थ्यो ।
0 comments:
Post a Comment