सहस्रधाराधाम आन्तरिक पर्यटक र तीर्थालुको गन्तव्य बन्दै

फलेवास (पर्वत), २२ कात्तिक - पर्वतको पाङमा रहेको सहस्रधाराधाम पछिल्लो समय तीर्थयात्री र आन्तरिक पर्यटकले भरिन थालेको छ। प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ प्रवेश गर्दा सहस्रधारामा स्नान र दर्शन गरेर मात्र जानुपर्ने मान्यता रहेकाले सहस्रधारामा पछिल्लो समयमा आन्तरिक र बाह्य पर्यटक तथा तीर्थालुको भीड लाग्न थालेको हो।

पैदलमार्गबाट आउने तीर्थालुले बास बस्ने र स्नान गरेर मात्र फर्कने यस स्थान पोखरा बागलुङ सडक निर्माणसँगै ओझेलमा परेको थियो । पछिल्लो समयमा यसलाई धार्मिक र पर्यटकीय स्थलको रुपमा विकास गर्ने उद्देश्यसहित १०८ धारा निर्माण गरिएपछि मुस्ताङ जाने आन्तरिक पर्यटक र तीर्थालुको भीड लाग्न थालेको छ।

सहस्रधारामा हिन्दू धर्मशास्त्रमा माता पार्वतीले तपस्या गरेको भन्ने किम्वदन्तीका आधारमा यस स्थानलाई पवित्र स्थान मानिन्छ । कालञ्जार पर्वत अर्थात् पर्वतको हम्पाल क्षेत्रबाट अलप भएको सहस्रधारा पाङमा आएर निस्किएको र त्यहाँ स्नान गर्नाले मनोकामना पूरा हुने तथा विभिन्न रोग निको हुने जनविश्वास रहेको छ।

तीर्थालुको सहजताका लागि हाल यहाँ १०८ गौ धारा निर्माण गरिएको सहस्रधारा दिव्यधाम विकास समितिका सदस्य राजुप्रसाद पौडेलले बताउनुभयो । पोखरा बागलुङ राजमार्गमै पर्ने भएकाले पनि यस स्थानमा अहिले धार्मिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । सहस्रधारा दिव्य धाम र राष्ट्रिय परोपकार महासङ्घले आयोजना गरेको महायज्ञबाट उठेको रकमले यहाँ विभिन्न संरचना निर्माण भएका छन्।

हाल सहस्रधाराको वरिपरि विभिन्न पूर्वाधार बनिसकेका र अहिले बनेका पूर्वाधारका कारण तीर्थालु बढ्ने विश्वास स्थानीयवासीको छ । सहस्रधारालाई धार्मिक र पर्यटकीय रुपमा पवित्र र प्रसिद्ध पनि भएका कारण यस क्षेत्रको विकासका लागि अझै धेरै गर्नुपर्ने आवश्यकता रहेको पौडेलले बताउनुभयो।

धेरै वर्ष पहिलादेखि नै सहस्रधारामा लक्ष्मी नारायणको मन्दिर निर्माण गरी मुक्तिनाथ जाने आउने तीर्थालुका लागि निःशुल्क बस्ने तथा खाने व्यवस्था गरिँदै आएको र आगामी दिनमा पनि सोही अनुसार नै अगाडि बढाइने स्थानीय बताउँछन्।

हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल मुक्तिनाथ र दामोदर कुण्ड पुग्ने तीर्थालुको प्रवेशद्वारको रुपमा रहेको सहस्रधारामा स्नान गर्न आउने तीर्थालुलाई खान र आवासका लागि धर्मशाला तथा मुक्तिनारायणको आकर्षक मन्दिर निर्माण भइरहेको छ।

पोखरा बागलुङ राजमार्ग निर्माण पूर्व पैदल यात्राबाट मुक्तिनाथ पुग्ने स्वदेशी र भारतीय समेत तीर्थालुले एकरात सहस्रधारामा बिताउँदै आएका थिए। अहिले पनि यहाँ पुग्ने सबै तीर्थालुलाई खान र बस्न निःशुल्क व्यवस्था हुँदै आएको छ।
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment