औषधि किन्ने पैसा भए बुबा बाँच्नुहुन्छ रे'

घोराहीः चिसो भुइँमा ढलेको एउटा अधबैंसे शरीर । खिया लागेको टिनको छानो पनि ठाउँठाउँमा प्वाल परेको छ । प्वालबाट छिरेका सूर्यका किरण उनको शरीरमा चम्किरहेका छन् ।
छेउमा १२ वर्षीया बालिका त्यो ढलेको शरीरलाई च्यातिएको एउटा ओढ्ने मिलाएर ओढाउँदै छिन् । ती उनका बाबु हुन्, दिनेश वादी । दुई महिनादेखि ओछ्यानमा थला परेका आफ्ना बाबुलाई पानी खुवाउन १२ वर्षीया रोशनी वादी घरछेउको खोलामा हथौडा बिसाएर आएकी हुन् ।




उनी घरनजिकैको सेवार खोलामा गिट्टी कुट्छिन् । बाबु बिरामी भएर ढलेको दुई महिना बितिसक्यो । बाबु स्याहार्न उनले पढाइ पनि छोडिसकिन् । आमा चार वर्षअघि अर्कैसँग बिहे गरेर गइन्, एउटा छोराछोरी लगेर । तर रोशनीलाई भने त्यहीँ छोडिन् । जन्डिससँग वर्षौदेखि लड्दै आएका उनका बाबु दिनेशलाई दुई महिनादेखि त्यहीँ जन्डिसले थला पारिसकेको छ । घरमा खानेकुरा केही छैन, खोलाको पानीबाहेक । बाबुछोरीले पेटमा अन्न नहालेको एक साता बितिसकेको छ ।
‘अरूले बचेको भात दिन्छन्, एक दुई दिनमा त्यहीँ बाँडेर खान्छौं’, छानो लगाएको थोत्रो टिनको प्वालबाट छिरेको घामको किरणबाट बाबुको अनुहार छेक्दै रोशनीले भनिन्, ‘बुबाले त त्यो पनि खान सक्नुहुन्न ।’ दिनेशको शरीरलाई अब जन्डिसले सक्नै लागेको छ । तर उनीहरूसँग जाँच गराउनेसमेत पैसा छैन । रोशनीले जम्मा गरेको गिट्टी पनि धेरै भइसक्यो, बिकेको छैन । केही समयअघि गाउँलेले दुई चार सय सहयोग गरेपछि उनले आफ्ना बाबुलाई अस्पताल लगेकी थिइन् । तर औषधि किन्ने पैसा पुगेन । उनी जाँच मात्रै गराएर फर्किन् ।
‘डाक्टरले जन्डिसले खानै लागिसक्यो, धेरै पुरानो भयो भन्नुभो’, रोशनीले भनिन्, ‘तर पैसा थिएन, औषधि ल्याइनँ, पछि लिन आउँला भनेँ, औषधि भए बुबा बाँच्नुहुन्छ रे ।’ त्यसपछि उनी अस्पताल फर्केकी छैनिन् । पैसा छैन । रोगले थला नपार्दासम्म बाबुले दिनभरि मजदुरी गर्थे, साँझबिहानको छाक टरेको थियो ।
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment