छेउमा १२ वर्षीया बालिका त्यो ढलेको शरीरलाई च्यातिएको एउटा ओढ्ने मिलाएर ओढाउँदै छिन् । ती उनका बाबु हुन्, दिनेश वादी । दुई महिनादेखि ओछ्यानमा थला परेका आफ्ना बाबुलाई पानी खुवाउन १२ वर्षीया रोशनी वादी घरछेउको खोलामा हथौडा बिसाएर आएकी हुन् ।
‘अरूले बचेको भात दिन्छन्, एक दुई दिनमा त्यहीँ बाँडेर खान्छौं’, छानो लगाएको थोत्रो टिनको प्वालबाट छिरेको घामको किरणबाट बाबुको अनुहार छेक्दै रोशनीले भनिन्, ‘बुबाले त त्यो पनि खान सक्नुहुन्न ।’ दिनेशको शरीरलाई अब जन्डिसले सक्नै लागेको छ । तर उनीहरूसँग जाँच गराउनेसमेत पैसा छैन । रोशनीले जम्मा गरेको गिट्टी पनि धेरै भइसक्यो, बिकेको छैन । केही समयअघि गाउँलेले दुई चार सय सहयोग गरेपछि उनले आफ्ना बाबुलाई अस्पताल लगेकी थिइन् । तर औषधि किन्ने पैसा पुगेन । उनी जाँच मात्रै गराएर फर्किन् ।
‘डाक्टरले जन्डिसले खानै लागिसक्यो, धेरै पुरानो भयो भन्नुभो’, रोशनीले भनिन्, ‘तर पैसा थिएन, औषधि ल्याइनँ, पछि लिन आउँला भनेँ, औषधि भए बुबा बाँच्नुहुन्छ रे ।’ त्यसपछि उनी अस्पताल फर्केकी छैनिन् । पैसा छैन । रोगले थला नपार्दासम्म बाबुले दिनभरि मजदुरी गर्थे, साँझबिहानको छाक टरेको थियो ।

0 comments:
Post a Comment