स्वास्थ्यमन्त्री गगन थापालाई प्रश्न : सुजाता कोइरालाको उपचार गर्ने सरकारले १२ वर्षीया बालिकाको उपचार गर्न सक्छ ?
सुजन पन्त
काठमाडौं । अर्काको जग्गा अधियामा गरेर पेट पाल्नुपर्ने अवस्था छ सरस्वती खड्काको परिवारको । बर्दिया जिल्लाको गुलरिया नगरपालिका–५ तुल्सीपुर बस्ने १२ वर्षीया बालिका खड्काको परिवारको अवस्था नाजुक छ ।
यो प्रसंग यहाँ किन निस्कियो त ? गत असोजमा सरस्वती एक्कासी बिरामी परिन् । तर, उनलाई उपचार गर्न उनको परिवारको हैसियत छैन् ।
उनलाई नजिकैको मेडिकलमा लगेर देखाउँदा यहाँ उनको उपचार नहुने भन्दै नेपालगन्जको एक नर्सिङहोममा लगेर चेकजाँच गराए । ब्रेट ट्युमर भएको छ भनेर डाक्टरले जनाउ दिए ।
पारिवारिक अवस्था निकै कमजोर भएको खड्काको परिवारले छोरीलाई काठमाडौं ल्याएर हालसम्म पनि उपचार गराउन सकेका छैनन् । बिरामी बालिका घरमै पीडा खपेर बस्न बाध्य भएकी छिन् ।
सहयोगी हातहरुको पर्खाइमा रहेकी उनी जीवन जिउने आशा मनभरी पालेर बसेकी छिन् । तर पनि उनलाई न सरकारले चासो दिएको छ, न अन्य कुनै संघसंस्था वा व्यक्ति ।
केही महिनाअघि मात्र स्व. गिरिजा प्रसाद कोइरालाको एकमात्र सुपुत्री सुजाता कोइरालालाई सरकारले स्तन क्यान्सको उपचार गर्न भनेर ५० लाख दिएको थियो । तर, एक बालिका उपचारको छट्पटिमा रहँदा पनि नेपाल सरकार मौन छ ।
सुजाता गरिब घरानाकी पनि हैनन् । यो कुरा आम मानिसलाई थाहा भएकै कुरा हो । पार्टी सभापति देउवादेखि अन्य ठूला नेताहरु सुजाता कोईरालाको उपचार खर्चको लागि ५० लाख भए पनि दिनुपर्छ भनेर अड्डी कसेको समाचार त्यतिखेर छताछुल्ल भएर पोखिएको देखियो ।
तर, एक बालिका मृत्युको मुखमा छट्पटाउँदा यसरी सरकार मौन बस्नु कतिसम्म उचित रहला । के ती बालिका नेपाली होइन ?
के नेपाल सरकार ठूलाबडाहरुको लागि मात्र हो त ? ठूलाहरुको लागि मात्र नेपाल सरकार गठन भएको हो ? नेपाली कांग्रेसका युवा नेता तथा स्वास्थ्यमन्त्री माननीय गगन थापालाई मेरो यो प्रश्न छ ?
स्वास्थ्यमन्त्री हुनासाथ थापाले ‘अबदेखि गरिब नेपालीहरुले रोगको कारणले अकालमा ज्यान गुमाउनुपर्दैन’ भनेर उद्घोष गरेको परिणाम यही हो त ? बिरामी भएर मृत्युको मुखमा रहेकी ति बालिका के नेपालको जनता होइन ? कि नेपाली नै होइन् मान्यज्यू ?
‘म कलिलै उमेरमा यो संसार छाड्न चाहन्न्, उपचारको अभावमा मर्न नपरोस्’ उनी भन्छिन्, ‘मेरो जस्तो हालत धेरैको छ, तर पनि म कलिलै उमेरमा यो संसार छाड्न चाहन्न् ।’

0 comments:
Post a Comment