आमाबाबुको भर नहुँदा सन्तानको बिजोग


फाल्गुन १५, २०७३- आमाले दोस्रो बिहे गरेपछि काउले ४, राक्सीराङकी ११ वर्षीया सीमा चेपाङलाई ४ भाइबहिनीको रेखदेख गर्ने जिम्मेवारी छ । तर, घरमा खाने कुरा पनि छैन । त्यसैले भाइबहिनीलाई पेटभरि खुवाउन सक्दिनन् । बाबु सूर्य अर्काको मेलामा काम गर्न जान्छन् । उनले कान्छी भित्र्याएपछि लालाबालाले माया पाएका छैनन् ।

झन् २ वर्षीय कान्छा भाइ भुवनको दाहिने खुट्टा आगोले पोलेपछि सताउने गरेका छन् । उपचार पाएका छैनन् । गाउँघरमै उपचार गरे पनि अस्पताल लैजान नसक्दा घाउ ठूलो हुँदै गएको छ । आमा सावित्री मंसिरमा अर्केसँग गइन् । ‘आमा नभएपछि भाइबहिनीको गोठालो गर्छु,’ उनले भनिन्, ‘सबै साना छन्, राति सुतेका बेला कान्छो भाइ अगेनोमा परेछ, दाहिने खुट्टा पोलेको छ ।’ उनले उपचार गर्न लग्न नसकिएको बताइन् । भाइ यमन ९ वर्ष, सुजन ६ वर्ष र बहिनी लक्ष्मी ४ वर्षका भए । घरको आर्थिक अवस्था र विद्यालयनजिक नहुँदा कसैले पढ्न पाएका छैनन् । कान्छी आमा र बाबुले खासै वास्ता गर्दैनन् । ‘घरमा कोदो र मकैको पीठो हुँदा आफैं पकाएर खुवाउँछु,’ उनले भनिन्, ‘नहुँदा कहिलेकाहीं भोकै बस्नुपर्छ ।’
आगोले पोलेको खुट्टो दु:खेर भुवन राति रुन्छन् । ‘कान्छीआमाका छोराछोरी छैनन्,’ उनले भनिन्, ‘तर सधैं आमाबा मेलापातमा हुन्छन् ।’ आमा ‘पोइल’ गएको ३ महिनामै बुबाले कान्छीआमा विष्णुमायालाई भित्र्याएका हुन् । साना छोराछोरी छाडेर गएकी आमा फर्किएर आइनन् । ‘अहिले घरमा खाने अन्न छैन,’ उनले भनिन, ‘६ महिना अनिकाल लाग्छ, यो बेला पेटभरि खान पाइँदैन ।’ उनले भाइको उपचार गर्न चाहेको बताइन् । उनलाई पढ्न मन छ । तर, नजिक विद्यालय छैन । सहर, बजारमा बसेर पढ्न खर्च छैन । ३ घण्टा धाएर विद्यालय जाँदा भाइबहिनी हेर्ने हुँदैनन् । घर लथालिंग हुन्छ । लगाउने राम्रा लुगा छैनन् ।
‘म घरको काममा व्यस्त हुँदा सानो भाइलाई यमनले सकिनसकी बोकेर गाउँ डुलाउँछ,’ उनले भनिन्, ‘तर घाउले गर्दा समस्या भएको छ, कतै लगेर उपचार गर्न पाए भाइ ठीक हुन्थ्यो होला ।’ पोइल गएकी आमालाई छोराछोरीको बिचल्ली देखेर गाउँलेले फर्काउने प्रयास गरे । उनले मानिन् । ‘आमा पोइल गएपछि छोराछोरीको बिजोग भयो,’ स्थानीय शोभा चेपाङले भनिन्, ‘आमा निष्ठुरी रैछिन्, साना छोराछोरीलाई रुवाएर अर्कैसँग गइन् ।’

Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment