अभागी योद्धा

  • झोलामा सामान बेचेर जीविका चलाउने दोस्रो विश्वयुद्धका जीवित साक्षी
  • अभागी योद्धा- प्रदीप मेन्याङ्बो

    ढुंगा र माटोको गारो अनि खरको छानो भएको घरको बलेसीमा बसेर दोस्रो विश्वयुद्धको वर्णन गर्न खप्पिस छन्, धनदल लिम्बू सम्बाहाम्फे, ९३। थोत्रा लुगा र टोपी लगाएका धनदल कुनै बेलाका 'वार भेट्रान्स' हुन् भनेर ठम्याउन गाह्रो छ।

    तेह्रथुमको सदरमुकाम म्याङलुङबाट एक बिहानको बाटोमा पर्ने जलजले-४ तोक्माका दोस्रो विश्वयुद्धका जीवित साक्षीको नाम धनदल भए पनि धनसम्पत्ति भने कमाउन सकेनन्। सुनाउँछन्, "मलाई लाहुरे भएपछि धनसम्पत्ति, सुनचाँदी कमाइन्छ भन्ने आशा देखाएर गल्लाले दार्जीलिङ लग्यो, उसकै पछि लागेर २० वर्षमै भर्ती भएँ।"

    उनको तालिम चलिरहेका बेला दोस्रो विश्वयुद्ध चर्किरहेको थियो। जापान, जर्मनी र इटालीलगायत शक्तिशाली राष्ट्रका धुरी एकातिर थिए भने ब्रिटेन, अमेरिका, फ्रान्सलगायतको धुरी अर्कातिर। धनदलले भने भाडाका सिपाही बनेर दार्जीलिङको घुमपहाडमा सात महिना तालिम लिए। बर्मा र असमका जंगलमा उनले आफ्ना कैयौँ नम्बरी जापानी सेनाको गोलीबाट मारएिको देखे। उनले पनि कैयौँ जापानीलाई मारे। यसरी राइफल र बमगोलाका बीचमा ४ वर्ष ७ महिना बिते।

    युद्धमा सिपाहीको कामै विपक्षी सेनालाई दुस्मन मानेर मार्नु हुन्थ्यो। तर, धनदलले दोस्रो विश्वयुद्धलाई धन कमाउने माध्यम बनाउने सपना देखेछन्। मरे पनि बाँचे पनि धन कमाइन्छ भन्ने मात्र लागेको थियो उनलाई। सुनाउँछन्, "म राइफलम्यान थिएँ। साथीहरूमध्ये कसैले गि्रनेड त कसैले बमगोला बोकेर महिनौँसम्म असम-बर्माको जंगलमा बस्यौँ। मर्छु भन्ने पिरभन्दा मार्छु भन्ने जोस बढी हुन्थ्यो।"

    सन् १९३९ देखि १९४५ सम्मको महासंग्राममा ब्रिटिसका दुस्मनलाई गोली हानेर लडाएबापत उनले महिनाको ४२ रुपियाँ तनखा पाउँथे। सम्झन्छन्, "बर्माको इरावती र सिताङ नदी आसपास जापानी सेनासँग खुब लडियो।" जापानी सेनाले महिनौँ दिनसम्म घेरामा पारेका बेला हवाईजहाजले रासनपानी खसालेर बचाएको रहेछ, उनीहरूलाई। उनीहरूको सेना थपिएपछि दुस्मनले भाग्ने 'आइडिया' बनाएछन्। एक जापानीले उनीहरूको सेन्ट्रीलाई नदी किनारमा लुकेर गोली हानेपछि थाहा भयो, दुस्मन त नदीमा स्याउलाले छोपिएर भागेका रहेछन्। सम्झन्छन्, "अनि, हामीले गोलीको वर्षा गर्दा १ सय ५० जनाजति नदीमै मरे होलान्।"

    पूर्वी एसियामा आफ्नो साम्राज्य स्थापित गर्न जापान चीनसँग युद्धरत थियो। ६ अगस्त र ९ अगस्त १९४५ मा जापानको हिरोसिमा र नागासाकीमा ब्रिटिसको साथ दिइरहेको अमेरिकाले एटम बम खसालेर नरसंहार मच्चायो। १५ अगस्त १९४५ मा जापानले आत्मसमर्पण गरेपछि विश्वयुद्धको समाप्त भयो। फेरि युद्ध हुन सक्ने भनेर धनदललाई दुई वर्षसम्म पल्टनमै राखियो।

    १४ गोर्खा राइफल्समा १०९२१४ नम्बर पाएका धनदललगायत अन्य गोर्खा सिपाहीलाई ३० मे १९४७ मा केही गज कपडा र केही बाटो खर्च दिएर 'अब घर जाऊ, पछि युद्ध भएमा बोलाउँछौँ' भनेर पठाइयो। भन्छन्, "ब्रिटिसले त १६ गज कात्रो पो दिएर पठाएको रहेछ।"

    युद्धपछि उनलाई ब्रिटिसले प्रमाणपत्रसमेत दिएको रहेछ। सो प्रमाणपत्रमा दोस्रो विश्वयुद्धको वार स्टार, बर्मा स्टार र आसाम स्टार पदक प्राप्त गरेको उल्लेख छ। तर, ती मानपदवी भने अझैसम्म पाएका छैनन् उनले। भन्छन्, "सायद नेपाल गएर मर्‍यो भन्ठानेर पैसा, पेन्सन र अन्य रहलपहल भत्ता सुविधा दिन खोजीनिती त गरेनन् नै, मेडल पनि बेचेर खाइदिए ब्रिटिसले।" अहिले धनदलसँग युद्धमा लडेको प्रमाणका रूपमा ब्रिटिसले दिएको केही कागजका टुक्रा मात्र छन्। पेन्सन, बहादुरीको भत्ता सुविधा भने केही छैन।

    युद्ध चलिरहेका बेला धनदल ६० दिनको बिदामा आएका रहेछन्। त्यही बेला छिमेकी गाउँकी माक्ली हुक्पाचोङबाङसँग विवाह गरेछन्। तर, हनिमुन मनाउन नपाई फेरि मणिपुरको युद्धमा फर्किनुपर्‍यो। भन्छन्, "म श्रीमतीलाई रुवाउँदै छाडेर बाटो लागेँ।" जेठी श्रीमतीको ०३३ सालमा मृत्यु भएपछि उनले दोस्रो विवाह गरेका छन्, दिलकुमारी मादेम्वासँग।

    ब्रिटिस पल्टनबाट खाली हात आएको साढे चार वर्षसम्म गाउँमै बसे उनी। जग्गा पर्याप्त नभएकाले जहान-परिवार पाल्न धौधौ भयो। सन् १९४७ मा पाकिस्तान छुट्टिएपछि भारत-पाकबीच युद्ध हुन सक्ने भएकाले उनलाई भर्ती हुन बोलाइयो। २३ नोभेम्बर १९५१ मा दोस्रोपटक भारतीय सेनामा भर्ती भएछन्। आफू मरे पनि परिवारका लागि केही होला कि भन्ने आशामा। १६ महिनासम्म युद्ध नभएपछि उनलाई बाटो खर्च मात्र दिएर घर फर्काइयो। धन कमाउने सपनाले फेरि पनि धोका खायो।

    त्यसपछि केही वर्ष सामान्य खेतीपाती गर्दै घरमा बसेका बेला राणा शासनको अन्त्य गर्न नेपाली कांग्रेसले मुक्ति सेनाको भर्ती खुलायो। उनी झोलामा मकै र भटमासको सातुसामल बोकेर विराटनगर पुगे। ब्रिटिस र भारतीय पल्टनमा जागिर खाएको आधारमा राणाको धनकुटा गौँडा हान्न उनलाई एउटा बन्दुक दिएर भर्ती गरएिछ। तमोर किनारमा रहेको मूलघाट नपुग्दै ००७ सालमा राणा शासनको अन्त्य भएपछि उनी घर फर्किएछन्।

    जलजलेमा रहेको १२ रोपनीमध्ये ६ रोपनी जग्गा छोरालाई अंशमा दिएर बाँकी रहेको थोरै पाखो रुँगेर बसेका छन्, धनदल। उनले गोर्खा वेलफेयर च्यारटिी स्किमबाट ०५३ सालदेखि मासिक पाँच हजार रुपियाँ पाइरहेका छन्। आफू दोस्रो विश्वयुद्धका योद्धा भएकामा उनलाई कुनै गर्व भने छैन। भन्छन्, "ब्रिटिस च्यारटिीले दिएको पैसाले परिवार धान्न मुस्किल छ। जेनतेन जीविका चलाइरहेको छु। गर्व गर्ने के नै छ र ?"
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment